जनता एग्रोले आगामी वर्ष आइपिओ जारी गर्ने

Setopati

जनता एग्रो एण्ड फरेष्ट्री कम्पनीले आगामी वर्ष प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। 

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब बढी छ। आगामी असार मसान्तसम्म यस्तो पुँजी एक अर्ब ५० करोड पुर्‍याउने कम्पनीका अध्यक्ष पवन गोल्यानले बताए। त्यसपछि भने कम्पनीले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गरेर चुक्ता पुँजी दुई अर्ब पुर्‍याउने छ। 

विशेषगरी साना किसानलाई करार खेती मोडलमा जोड्ने यसको उद्देश्य रहेको उनले बताए। 

‘हामी यहाँ स्थानीय तह वा समूहमार्फत् साना किसानलाई जोड्छौं,’ उनले भने, ‘त्यसरी जोडिएका किसानलाई कुन बाली लगाउने, लागत मूल्य, बेच्ने मूल्य र किन्ने ग्यारेन्टी दिइन्छ।’

किसानले उत्पादन गरेका तरकारी तथा फलफूललाई प्रशोधन समेत गरिने उनले जानकारी दिए। यस्तो उद्योगका लागि स्थानीय युवालाई प्रोत्साहन गरिने छ। 

किसानले कुन समयमा कुन बाली लगाउने भन्नेबारे कम्पनीले क्रप क्यालेन्डर बनाउने छ। 

‘हाम्रो उद्देश्य किसानको आयआर्जन बढाउने हो। जैविक मल किसानले आफैं उत्पादन गछन्। हामी मल बनाउन सिकाउँछौं,’ उनले भने, ‘बिउ, बेर्ना तथा प्रविधिमा पालिकाले ९० प्रतिशत अनुदान दिन्छ। १० प्रतिशत किसानले लगानी गर्नुपर्ने हुन्छ।’ 

सोही अनुसार हाल कम्पनीले झापास्थित कन्काई नगरपालिकासँग सम्झौता गरेको छ। हाल त्यहाँ सिमल तरूल उत्पादन थालिएको छ।

‘अहिले दूधको भुक्तानी नपाएकाले धेरै किसानलाई विश्वास जगाउन सकिएको छैन। पछि फाइदा आउन थालेपछि विस्तारै किसान जोडिन्छन् भन्ने आशा छ,’ उनले भने।  

विदेशमा उच्च मूल्यमा बिक्री हुने वस्तु किसानलाई उत्पादन गर्न लगाउने कम्पनीको योजना छ। उनी भन्छन्, ‘यसले किसान र कम्पनी दुवैलाई फाइदा पुर्‍याउँछ।’

यो कम्पनीले आवश्यकता अनुसार करार खेती गर्ने, प्रशोधन उद्योग लगाउने अथवा किसानको उत्पादन मात्रै पनि किन्ने गर्छ। 

जैविक उत्पादन गरी किसानलाई उचित मूल्य दिने सहकारी, समूह वा स्थानीय तह यस कम्पनीमा जोडिन सक्नेछन्। 

‘हामी एक्लैले केही गर्ने होइन सबै जनतालाई जोड्ने हो। त्यही भएर कम्पनीको नाम नै जनता एग्रो राखेको हो,’ उनले भने। 

जनता एग्रो एण्ड फरेष्ट्री इन्भेष्टमेन्ट कम्पनी हो। यो कम्पनी स्थापना भएको एक वर्ष भयो। यसले विशेषगरी कृषि र वन पैदावरमा लगानी गर्दै आएको छ। हाल यसमा दुई सय जना संस्थापक सेयरधनी छन्।